सेनाको संयुक्त सन्देश


प्रधानसेनापति महारथी रुकमाङ्गद कटवाल: गौरवमय इतिहास बोकेको र जनताप्रति सदैव उत्तरदायी रहेको नेपाली सेनाको नेतृत्व वर्ग लगायत सकल दर्जा एक ढिक्का भई उच्च अनुशासनमा रही राष्ट्रको सुरक्षा र राष्ट्रियताको जगेर्ना गर्नका लागि राज्यले दिएका जिम्मेवारीहरुलाई निर्वाह गर्दै आएका छौं । विगत केही दिन यता विभिन्न संचार माध्यमहरुमा नेपाली सेनाको अनुशासन तथा वरिष्ठ अधिकृतहरु विशेषतः प्रधानसेनापति लगायत वरिष्ठतम रथीहरुकाबीचको सम्बन्धलाई लिएर आएको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएकोले त्यस्तो समाचारमा कुनै सत्यता नभएको र त्यो भ्रामक र कपोलकल्पित मात्रै भएको स्पष्ट गर्न चाहन्छौं । यस सन्दर्भमा म नेपाली सेनाको प्रधान सेनापति महारथी श्री रुकमाङ्गद कटवाल, बलाध्यक्ष रथी श्री कुलबहादुर खड्का र बलाधिकृत रथी श्री छत्रमान सिंह गुरुङ्को बीचमा कुनै मनमुटाव वा द्वेष नभएको र हामीहरु आआफ्नो नियुक्तिमा प्रचलित नियम कानुन र आफ्नो चेन अफ कमान्ड अनुसार नेपाली सेनाको गैरराजनैतिक चरित्रलाई कायम राख्दै यसको संस्थागत विकास गर्न र राष्ट्रिय सेनाको राष्ट्रिय चरित्रलाई अझ व्यापक र अझ जनता केन्द्रित बनाउन सक्षम छौं र त्यसैकार्यमा कटिबद्ध पनि छौं । हामीहरु व्यक्तिगत तथा संस्थागत दुवै रुपमा नेपालको संविधान प्रचलित कानुन र विगतका शान्ति सम्झौताहरु प्रति पूर्ण रुपमा प्रतिबद्ध र लोकतान्त्रिक पद्धतिप्रति समर्पित रही शान्ति प्रकृयालाई तार्किक निश्कर्षमा लैजानका लागि राज्य र जननिर्वाचित प्रतिनिधिहरुलाई हरेक प्रकारको सहयोग गर्नका लागि सदैव तत्पर रहेको जानकारी गराउंदछौं।’

बलाध्यक्ष रथी श्री कुलबहादुर खड्का: ‘प्रधानसेनापतिले भन्नुभएको कुरामा मेरो पुर्ण सहमति समर्थन र प्रतिबद्धता छ।’

बलाधिकृत रथी श्री छत्रमानिसंह गुरुङ्: ‘प्रधानसेनापति र बलाध्यक्ष ज्यूले भन्नु भएको कुरामा मेरो पुर्ण सहमति समर्थन र प्रतिबद्धता छ।

Comments

Popular Posts