
भो, अब म कुकुर पाल्दिनँ। ऊ मर्दाखेरि मन साह्रै नै कुँडिन पुग्यो।'
एउटी साथीले धेरै वर्षअघि भनेको कुरा मैले त्यतिखेर सम्झन पुगेँ जतिखेर मेरो कुकुरले अन्तिम सास फेर्यो । गएको भदौ १४ गते आइतबार।
बिहानको समय थियो। ऊ साङ्लामै थियो। खुट्टा फ्याट-फ्याट पार्न थाल्यो। 'ए सन्तोष, साङ्ला खोल्दे खोल्दे,' आमाले भन्नुभो। मैले साङ्ला र उसको घाँटीको पेटी खोलिदिएँ। आमाले 'साङ्ला खोल्दे खोल्दे' भन्नुको मतलब रहेछ- बन्धनरहित अवस्थामा उसले सास (अन्तिम) फेरोस्।
र, 'फुच्चे फुच्चे' भन्दै उसको अनुहार र घाँटी सुमसुम्याउन थालेँ। साँच्चै ऊ त जीवनको अन्तिम क्षण गुजार्दै रहेछ।
आमाले गिलासमा पानी ल्याएर खन्याइदिनुभयो। मैले उसको मुख फट्टाइदिएँ। दुई-तीन चोटि पानी घुटुक-घुटुक पार्यो उसले। र, अन्तिम सास छोड्यो।
आमा, बहिनी र हजुरआमा घरको एउटा-एउटा कुना च्यापेर सुँकसुँकाउन थाले। मेरो मन पनि उसको प्राण उडाइसँगै भारी भएर आयो। सायद मन कुँडिनु यसैलाई भनेकी थिइन् मेरी साथीले।
आमाले मलाई सेतो कपडा किन्न पठाउनुभो। उसलाई बोक्न र खाल्डो खनेर पुर्नका लागि एउटा मान्छे खोजियो - केही ज्याला दिनेगरी। मन यति गह्रौं भयो कि मैले फेरि उसलाई बोक्न त के छुनसमेत सकिनँ। तिनैले उसको शवलाई सेतो कपडाले बेरिदिए र बोरामा हाले। हजुरआमाले शवमा एक माना चामल हालिदिनुभो। मैले केही सिक्का छरिदिएँ। 'कुकुरले बाउले जस्तो सम्मान पायो,' ती तामाङ दाइले टिप्पणी पनि गर्न भ्याए।
तिनले शवको धोक्रो बोके। मैले कोदालो बोकेँ र लागेँ तिनका पछि-पछि। सिमसिम पानी परिरहेको थियो। बौद्धपछाडिको जम्बो डाँडानिर पुगियो। खोलाकिनारमा धोक्रो बिसाए। र, थाले खाल्डो खन्न। धोक्राबाट झिकेर कुकुरलाई उनले खाल्डामा हाले। उसको अनुहार अन्तिम पल्ट हेरेँ। 'क्या दामी थ्यो कुकुर,' तिनले फेरि प्रतिक्रिया दिए। र, धमाधम माटो खोस्रेर पुर्न थाले।
घर फर्किएँ। नुहाइधुवाइ गर्यौं सबैले। त्यो छाक नुन खाएनौं हामीले। रोटीचिया खाएर जुठो बार्यौं। उसले पनि खाओस् भनेर अघिल्लो दिन ल्याएको मासु मिल्काइयो।
'हामीले उसको गुन तिर्न सक्यौं कि सकेनौं कुन्नि,' आमाले शंका उब्जाउनु स्वाभाविक थियो। किनकि हामीलाई उसले दस वर्षदेखि सुरक्षा दिएको थियो। चोरीडकैतीका घटना सहरभरि फैलिरहेका बेला, अझै हाम्रै टोलमा घटेका बेला उसले हामीलाई जोगाएको थियो। सबैजनाले दिनभर घर छाडेर हिँड्दा रुँगिदिएको थियो। वास्तवमा उसलाई हामीले पालेका होइनौं उसले हामीलाई पालेको थियो। ऊ घरको रक्षक मात्र थिएन, सदस्य पनि थियो। म आफ्नो घरपरिवारबारे बताउँदा उसका बारे कहिल्यै छुटाउँदिनथेँ। ऊ घरको शोभा थियो। सान थियो। र, थियो इज्जत।
जन्मेको केही दिनमै उसलाई हामीले माउबाट छुटाएर घरमा राखेका थियौं - दस वर्षअघि। भर्खर खस्नुभएका हजुरबुबाको याद उसले राम्रैसँग भुलाइदिएको थियो - सबैको ध्यान आफूतिर खिचिदिएर। साह्रै सानो-मसिनो थियो। मायालाग्दो। त्यसैले हामीले फुच्चे भनेर बोलाउन थाल्यौं उसलाई। माया गरेर फुच्चु पनि भन्थ्यौं। सुनौलो रङको भुत्ला। जवान हुँदै गएपछि ऊ राम्रो देखिँदै पनि गयो। तर उचाइ खास नबढेपछि ऊ सधैं बच्चाजस्तो र कलिलो देखिइरह्यो। कालान्तरमा टोलमै ऊ नमुना कुकुर बन्न पुग्यो। सबैले माया गर्थे तर ऊ नामी छुच्चो। कसैलाई देखिसहन्थेन। आफूभन्दा ठूल्ठूला कुकुरलाई पनि झम्टन तम्सन्थ्यो।
ऊ सानो थियो त्यसैले कहिल्यै उसलाई बाहिर एक्लै छोडेनौं। धेरै वर्षसम्म ऊ मेरो मर्निङ वाकको साथी बन्यो। साङ्लामा राखेर डोर्याउँथेँ। उसले घरको अनुशासन राम्रै बुझेको थियो र पालना पनि गर्थ्यो। अरू कोठामा निर्बाध छिरे पनि भान्सामा कहिल्यै छिर्दैनथ्यो। सोफा या खाटमा आएर सँगै बस्थ्यो। एउटा खुट्टा भने हामीहरूको काखमा चढाउँथ्यो। कहिले हामीहरूको खुट्टाछेउ आएर बस्थ्यो। अगाडिका दुई पाउमाझ मुन्टो अड्याएर बस्दा ऊ बछट्टको सुन्दर देखिन्थ्यो।
नचिनेका मान्छेलाई ज्यान गए घरमा छिर्न दिन्थेन। हामी पनि उसकै भरोसामा - ढोका राम्रोसँग लागे-नलागेको वास्तै नगरी सुत्न अभ्यस्त भइसकेका थियौं - वर्षौंदेखि।
हुन त ऊ सानैदेखि नै अलि कमजोर खालको थियो। सायद हामीले राम्रो पोषण पुर्याउन जानेका थिएनौं कि? उसलाई जाडो याममा गाह्रो पर्थ्यो - खुट्टा खोच्याएर हिँड्थ्यो। बेलाबेला लुतो, घाउ आउँथ्यो। बर्खामा उपियाँ/किर्ना पर्ने त सामान्य भइहाल्यो। उसलाई ओखती ख्वाउन भने महाभारतै पर्थ्यो। घरमा भेट डाक्टर आएको र उसका लागि ओखतीपानी तयार गरेको ऊ पटक्कै मन पराउँदैनथ्यो। बीस हात परबाटै चाल पाउँथ्यो। र, झगडा गर्न (भुक्न) थाल्थ्यो।
मरूँला-मरूँलाझैं गरी धेरैपल्ट उसले हामीलाई अत्याएको थियो। बिमारले उठ्न नसकेका बेला पनि घरका मानिस आउँदा पुच्छरचाहिँ हल्लाएकै हुन्थ्यो उसले - स्वागतमा।
तर यसपालि नमिठोसँग झुक्याइदियो। पेटमा पानी जम्ने व्यथा। अनि ज्यान गए ओखती नखाने उसको ढिपी। देख्नेजान्नेहरू जसले उसको मृत्युको खबर पाए - सबै चुकचुकाए।
हजुरआमाको चित्तबुझाइ
'अब यो मान्छेको जुनीमा गयो,' उसले अन्तिम सास छोड्नेबित्तिकै हजुरआमाले भन्नुभो, 'यसले चौरासी लाख जुनी पार गर्यो ।' हजुरआमा पहिल्यैदेखि भन्नुहुन्थ्यो, 'गल्लीका कैयन् कुकुरले जस्तो यसले दुःख भोग्नुपरेन। राम्रो स्याहार-सुसारमा बस्न पायो।'
हजुरआमा भन्नुहुन्थ्यो, 'यसले मरेपछि कपडा, चामल भेट्टाउँछ।'
हाम्रो कुकुरले जिउँदै छँदा र मर्दासमेत सम्मान पाउनेमा हजुरआमा सधैं विश्वस्त हुनुहुन्थ्यो। र, उसले मृत्युपछि मानवचोला पाएको भन्ने विश्वास पनि हजुरआमालाई छ। हामीले भन्ने गरेको अन्धविश्वासकै आडमा हजुरआमा सन्तुष्टिको सास फेर्दै हुनुहुन्छ। मलाई भने त्यो पत्याउनै गाह्रो भइरहेको छ। र त बढी पीडा छ!
एउटी अर्की साथीले एसएमएस लेखिन्, 'मलाई पनि मेरोले छोडेर गयो, त्यसपछि पाल्नै मन लागेन।' तिनको एसएमएस व्यहोरामा 'संसारको रितै यस्तो' भन्ने पनि थियो।
उसका साङ्लो र घाँटीमा लाउने पेटी उसलाई बाँध्ने ठाउँमै छ। जुन घडी उसले प्राण त्याग्दा मैले त्यो उसको शरीरबाट छुटाइदिएको थिएँ। बेलाबेला झस्कन्छु - ऊ यतै कतै छ कि!
अब के अर्को कुकुर ल्याउने? त्यसले कुकुरको अभाव त पुरा गर्ला तर फुच्चे? फुच्चे फुच्चे नै थियो। उसलाई र उसले लगाएको गुनलाई यो जुनीभरि नै बिर्सन कसरी सकिएला र?
sharmasantosh@gmail.com
Comments
Post a Comment
Give Your Comments