
काठमाडौं, वैशाख २ - सत्ता साझेदार पाँच दल दरबार हत्याकाण्ड छानबिन आयोग बनाउन सहमत भएका छन्। बालुवाटारमा मंगलबार बसेको सरकार सञ्चालन उच्चस्तरीय संयन्त्र बैठकले ´विश्वसनीय´ आयोग बनाउने निर्णय गरेको हो।
कान्तिपुर दैनिकले बुधबारको अंकमा प्रकाशित गरे अनुसार, ´प्रधानमन्त्रीले दरबार हत्याकाण्ड छानबिन आयोग गठन गर्ने प्रतिबद्धता जनाइसकेकाले विश्वसनीय छानबिन समिति बनाउन संयन्त्रले सरकारलाई सुझाव दिएको छ,´ बैठकमा सहभागी नेकपा संयुक्तका महासचिव सुनिल मानन्धरले भने, ´यसमा मन्त्रिपरिषदले गृहकार्य गर्नेछ।´
प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन १५ गते नारायणहिटी संग्रहालय उद्घाटन गर्दै दरबार हत्याकाण्ड छानबिन आयोग गठन गर्ने प्रतिबद्धता जनाएका थिए। ´आयोग विश्वसनीय भएन भने पुनः प्रश्न उठ्न सक्छ,´ माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भने, ´विश्वसनीय बनाउन संयन्त्रले सुझाव दिएको छ।´
मानन्धरका अनुसार मन्त्रिपरिषदको आगामी बैठकले आयोग गठनका लागि गृहकार्य सुरु गर्ने छ। दरबार हत्याकाण्ड २०५८ जेठ १९ गते भएको थियो। त्यसमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्यलगायत राजपरिवारका आठजना सदस्यको मृत्यु भएको थियो। हत्यालगत्तै पूर्वसभामुख तारानाथ रानाभाटको अध्यक्षतामा गठन भएको आयोगले तत्कालीन युवराज दीपेन्द्रले हत्या गरेको निष्कर्ष निकालेको थियो।
त्यस्तै बैठकले राज्य पुनर्संरचना, बेपत्ता छानबिन र सत्य मेलमिलाप आयोग गठन गर्ने निर्णय गरेको छ। यसअघि यी आयोग गठन गर्ने भनिए पनि दलहरूबीच सहमति नभएकाले हुन सकेको थिएन। प्रमुख प्रतिपक्षी कांग्रेससँग छलफल गरी आयोग गठन गर्न पनि संयन्त्रले सुझाव दिएको छ। ´यी आयोगमा प्रतिपक्षको पनि सरोकार भएकाले छलफल गरी आयोग गठन गर्नु राम्रो हुने भनेका छौं,´ मानन्धरले जनाए । गठन भई पूर्णता नपाएका समावेशीकरण, मुक्त कमैया, सुकुम्बासी आयोगलाई पूर्णता दिने निर्णय पनि पाँच दलले गरेका छन्।
स्थानीय निकायमा सहमति जुटाउने सम्बन्धमा प्रस्ताव तयार पार्न मन्त्रिपरिषदलाई ती दलले आग्रह गरेका छन्। दलहरूबीच स्थानीय निकायमा सहमति हुन नसक्दा विकास बजेट खर्च हुन नसकेको बेला उनीहरूले यो निर्णय गरेका हुन्।
Comments
Post a Comment
Give Your Comments